दफा ३६
जग्गा प्रयोग गर्ने अधिकार
अनुमतिपत्र प्राप्त व्यक्ति वा निजको प्रतिनिधिले कुनै सार्वजनिक वा निजी जग्गामा वा त्यस्तो जग्गामाथि दूरसञ्चार लाइन जडान गर्न वा राख्न र रेखदेख गर्न सक्नेछ र त्यसको प्रयोजनको लागि पोल वा लठ्ठा गाड्न, त्यस्तो जग्गामा भएको रुखमा कुनै कुरा अड्याउने वस्तु वा टेवा राख्न वा कुनै रुखले दूरसञ्चार लाइनलाई बाधा पुग्ने, हानी नोक्सानी हुने वा अवरोध गर्ने भएमा त्यस्तो रुख काट्न समेत सक्नेछ ।
तर,
(१) त्यसरी दूरसञ्चार लाइन जडान गरिएको वा गरिने जग्गा सार्वजनिक भएमा त्यसको लागि कुनै क्षतिपूर्ति तिर्नु पर्ने छैन र त्यसमा जडित वा निर्मित सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएकोमा भने अनुमतिपत्र प्राप्त व्यक्तिले त्यसको मर्मत, सुधार वा पुन निर्माण गरी यथास्थितिमा ल्याई दिनु पर्नेछ ।
(२) त्यसरी दूरसञ्चार लाइन जडान गरिने वा गरिएको जग्गा व्यक्तिको निजी सम्पत्ति भएमा त्यस्तो व्यक्तिलाई मर्का नपर्ने गरी उचित र उपयुक्त स्थानमा जडान गर्नु पर्नेछ र त्यसरी जडान गर्दा निजको कुनै सम्पत्तिको हानी नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले क्षतिपूर्ति तिर्नु पर्नेछ ।
(३) दूरसञ्चार लाइन राखिएको ठाउँ वा सो प्रयोग वा जडान भएको जग्गामा अनुमतिपत्र प्राप्त व्यक्तिको हैसियत सो दूरसञ्चार लाइन प्रयोगकर्ताको हैसियत बाहेक अन्य अधिकार हुने छैन ।